जेनजीको माग चुनाव होइन, सुशासन हो भन्दै प्रदर्शनमा उत्रिएका जेनजीहरु प्रहरी नियन्त्रणमा

२०८२ पुस ७

काठमाडौं । सर्वपक्षीय सरकार गठन र सुशासनको माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन् ।

प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको र शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले प्रदर्शन सुरु भएको केही समयमै उनीहरूलाई घेरा हालेर नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारीहरूले निर्वाचनले मात्र समस्याको समाधान नहुने,  सर्वपक्षीय सहमतिको सरकारले मात्र विद्यमान संकट टार्न सक्ने दाबी गरिरहेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको छ भने सो क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्: