काठमाडौं । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपालमा तोकिएको समयमै चुनाव गराउन जोड दिएका छन् ।
चारदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्क हेर्ने अतिरिक्त सचिव मुनु महावरले मंगलबार दिनभर गरेको उच्चस्तरीय भेट्घाटमा नेपाल सरकारले तोकेकै समयमा चुनाव गराउनुपर्नेमा जोड दिएका छन् ।
महावरले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, कानुन, भूमि, उद्योग तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालगायत परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका छन्।
भारतले समयमा चुनाव सम्पन्न भएको हेर्न चाहेको र त्यसका लागि हर प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता महावरले हरेक भेटमा जनाएका छन्। उनले तोकिएको समयमै नेपालले चुनाव सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नेपाल–भारतबिचको सदियौँदेखिको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशले भूमिका खेल्नुपर्ने धारणा पनि राखेका थिए।
सबै भेटमा भारतीय अतिरिक्त सचिव महावरले देशले हासिल गरेको परिवर्तनको चर्चा गर्दै जेनजी आन्दोलनपछि नेपालले जुन कठिन अवस्थाको सामना गर्नुपर्यो, त्यसलाई सफलतापूर्वक व्यवस्थापन गर्न सकेकोमा खुसी व्यक्त गरेका परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस्: