राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री यादव

२०८२ मंसिर १८

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको हो । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको एमाले स्रोतले जनाएको छ ।

नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले आफूहरूले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको बताए । ‘अहिलेको अवस्थामा विश्वासको मत लिँदा पनि बहुमत पुग्न सक्ने अवस्था देखिँदैन’, महतोले भने, ‘त्यसैले राजीनामा दिँदा नै राम्रो हुन्छ भन्ने मेरो सुझाव छ ।’

मुख्यमन्त्री यादवले आफू निकटस्थहरूसँग राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् । ‘मुख्यमन्त्रीले २ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्ना कुरा राखेर राजीनामा दिने सोच बनाउनुभएको मुख्यमन्त्री यादव निकट एक सांसदले भने ‘राजीनामाको भाषाबारे छलफल भइरहेको उनले बताए ।

सोमबार साँझ सर्वोच्च अदालतले आदेशको पत्र पाएपछि मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज बुधबार बिहान साढे ८ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: