जनकपुरधाम । मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सिताको विवाह भएको सम्झनामा आज देशभरका हिन्दु धर्ममावलम्बीहरुले राम र सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी (हाल मधेश प्रदेशको राजधानी) जनकपुरधाममा भगवान राम र माता सिताको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसी दासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस विवाह उत्सव पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
विवाह महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव, मटकोर, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिने हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।
जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बरको आयोजना गरिएको छ। राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ । त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुनेछ । अहिले १२ विगाहा स्थित स्वयम्बर हेर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति छ ।
यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।



प्रतिक्रिया दिनुहोस्: