जनकपुरधाम । केही दिनयता मौसममा आएको परिवर्तनसँगै भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले दिएको चेतावनीपछि मधेस प्रदेश सरकार पूर्वतयारीमा जुटेको छ ।
बुधबार मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश सुरक्षा निकायका प्रमुखहरूको सहभागीतामा प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको हो ।
बैठकमा भारतको उडिसाबाट सुरु भएको मोन्था चक्रवातको असर बिहीबारदेखि मधेश प्रदेशमा पर्ने सम्भावना रहेकाले आवश्यक पूर्वतयारीबारे छलफल गरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस अवस्थामा सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै मुख्यमन्त्री सोनलले भने, “प्रदेश सरकार विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कतामा छ र आवश्यक सबै संयन्त्र परिचालन गर्नमा तयार छ।”
मुख्यमन्त्री सोनलले सप्तकोशी, बागमती, कमला, रातु, लखनदेहीलगायतका नदीहरूको जलस्तर खतरा निशानभन्दा माथि जान सक्ने सम्भावना रहेकाले तटीय बस्तीहरूको सुरक्षाका लागि सरकार सतर्क रहेको प्रतिबद्धता जनाए।



प्रतिक्रिया दिनुहोस्: