छठपर्वको व्रत विधिवत रूपमा सुरु, आज ‘नहाय–खाय’

२०८२ कार्तिक ९

वीरगञ्ज । छठपर्वको व्रत विधिवत् रूपमा प्रारम्भ, चार दिनसम्म मनाइने यो पर्व आज कार्तिक शुक्ल चौथी तिथिदेखि ‘नहाय-खाय’ विधिबाट हुँदैछ।

तराई-मधेसका गाउँदेखि शहरसम्म अहिले सूर्य उपासनाको महापर्व छठको उल्लास र रौनक छाएको छ ।

यस पर्वको पहिलो दिन अर्थात् आज व्रतालुहरूले पवित्र स्नान गरी शुद्ध-पवित्र भोजन ग्रहण गर्दै व्रत सङ्कल्प लिन्छन्। यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ। यससँगै तराई–मधेसका धार्मिक महत्त्वका तलाउ, पोखरी र नदीघाटहरू बेहुलीझैँ सिँगारिएका छन्। छठका गीत र भजनले बस्ती–बस्ती गुन्जिएका छन् भने घर-घरमा पूजा सामग्रीको तयारी र व्यवस्थापनमा व्यस्तता बढेको छ।

परम्परा अनुसार कार्तिक शुक्ल तृतीयाको दिनदेखि बर्तालुहरूले माछा मासु, लसुन, प्याज जस्ता तामसी तथा राजसी भोजन त्याग गरी शुद्ध साकाहारी भोजन र सफा विधिबाट पर्व सुरु गर्छन्। छठ पर्वमा महिलाले मुख्य रूपमा व्रत सङ्कल्प गर्ने चलन छ, भने पुरुषले पनि व्रत वस्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

छठ पर्वमा श्रद्धा, निष्ठा र आत्मिक शुद्धतालाई अत्यन्त महत्त्व दिइन्छ । पूजाको प्रसाद सामग्रीमा मुख्य ठेकुवा (गहुँको पिठो, सख्खर र घिउबाट बनाइने परिकार), भुसुवा, बतासा र अन्य मिष्टान्नका परिकार ढिकी वा जाँतोमा कुटिएको अन्नबाट बनाइने परम्परा रहिआएको छ । यी परिकार पकाउने माटोको चुलो पनि  नयाँ बनाइन्छ ।

सूर्य आराधनाका लागि आवश्यक वस्तुहरू ‘उखु, बेसार, अदुवा, ज्यामिरो, बिमिरो र अन्य कृषि उपज’ छठपर्वमा दिइने अर्घ्यको मुख्य सामग्री हो ।

भोलि अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’ विधि गरिनेछ । यसदिन व्रतालुहरूले दिनभर निराहार बसेर राति गुड (भेलि) र दूधमा पकाइएको खीर र रोटी छठी मातालाई अर्पण गरी प्रसादस्वरूप ग्रहण गर्छन् यसलाई रसिआव रोटीको दिन भनिन्छ । त्यसपछि षष्ठीका दिन साँझ जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यस विधिलाई ‘साँझिया घाट’ भनिन्छ।

भोलिपल्ट सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व सम्पन्न गरिन्छ, जसलाई ‘भोरे घाट’ वा ‘पारण’ भनिन्छ । यस क्रममा व्रतालुहरू पानीमा उभिएर सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ ।

छठले सूर्य देवता र षष्ठी देवीप्रतिको आस्था मात्र होइन, परिवार, समुदाय र प्रकृतिप्रतिको समर्पणको सन्देश पनि फैलाउने गर्छ। यो व्रतले सामाजिक सद्भाव, सुस्वास्थ्य, दिर्घायु र पुत्र प्राप्तिको विश्वास रहेको बुझिन्छ ।

विगतमा तराई-मधेसमा सीमित रहँदै आएको यो पर्व अहिले देशव्यापी बनेको छ । सांस्कृतिक एकता र सह-अस्तित्वको प्रतीकका रूपमा छठ पर्व अब पहाडदेखि मधेससम्म साझा पर्वका रूपमा मनाइँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: