काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार, पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ, भने पासपोर्ट रोक्का गर्ने वाच लिष्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भएको एक उच्च अधिकारीहरूले जानकारी दिए ।
जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।
जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काकै निर्णय हुनेछ’ मन्त्रिपरिषद्सम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि थप कारबाही अघि बढ्ला ।
कुनै आधार प्रमाण बिना कसैको पनि राहदानी रोक्का गर्न नमिल्ने, यदि रोक्का गर्नुपरेमा त्यसको कारण खुल्ने किसिमको पत्र चाहिने कानुनी व्यवस्थाबारे छलफल भएको थियो ।
राहदानी रोक्काको तयारीको बलियो आधार भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान बनेको छ। सम्पत्ति शुद्धीकरण विभागले कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली र दीपक खड्का लगायतका नेताहरूको निवासमा मुचुल्का उठाएको छ।
प्रदर्शनकारीले जलाएका यी निवासहरूबाट ठूलो मात्रामा नगद र डलरका जलेका टुक्राहरू फेला परेको भिडियो सार्वजनिक भएपछि यो अनुसन्धानले गति लिएको हो। भ्रष्टाचार र दमनको आरोपमा अनुसन्धान अगाडि बढेका हो।



प्रतिक्रिया दिनुहोस्: