कलैया । बारा जिल्लामा जेनजीको प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएकाले थप जोखिमबाट बच्न भदौ २५ गते बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलबाट जारी विज्ञप्तिअनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो आदेश लागू गरिएको हो। यस विषम परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन गरिएको छ।
कर्फ्यूको समयमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न निषेध गरिएको छ। यो आदेश जिल्लाभर, अर्थात् पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतसम्मको चारकिल्लाभित्र लागू हुनेछ।
यद्यपि, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु हवाई टिकटका आधारमा सवारी साधनलाई भने आवतजावतमा सहजीकरण गरिनेछ। सबै नागरिकलाई संयमित भई आ-आफ्नो घरमै रहन अपिल गरिएको छ।



प्रतिक्रिया दिनुहोस्: