काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनमा समूहगत छलफलमा सहभागी नेताहरूले केपी शर्मा ओली निर्विकल्प भएको बताएका छन् ।
गोदावरीमा नेकपा एमाले विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफल प्रतिवेदन पेस गर्दै समूहगत नेताहरूले भावी पार्टी नेतृत्व पनि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन्।
आइतबार सनराईज सभाहल ललितपुरको गोदावरीमा प्रतिवेदन पेस गर्दै समूहगत नेताहरूले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरुमा केही सुझावसहित मूल अवधारणामा सहमत जनाएका छन् ।
प्रतिवेदन पेस गर्दै सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘प्रस्तुत प्रतिवेदनमा पूर्ण सहमति छ। अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष हाम्रो समूहको ठहर छ।’
कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेस गर्नुभएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरे । खतिवडाले भने– ‘राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनु पर्दछ ।
मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताए । ‘पार्टीमाथि देशी/विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट पुनः नेतृत्व दिनुपर्छ’।
बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनुपर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको बताए । ढुङ्गेलले भने, ‘चीन भ्रमणका क्रममा लिपुलेक बारे चीनका राष्ट्रपतिसँग आफ्नो अडान राखेकाले राजनेता केपी शर्मा ओलीलाई हाम्रो समूहको तर्फबाट उच्च सम्मान गर्नुपर्छ भन्ने मत राखे।
गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्याउन प्रतिवेदनहरूले प्रस्ट दिशा निर्देश गरेको बताए ।
लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले प्रतिवेदन प्रस्तुत गरेका थिए। जैशीले भने ‘प्रस्तुत प्रतिवेदनमा पूर्ण सहमति छ । अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष हाम्रो समूहको ठहर छ।’
त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले अघिल्लो वक्ता जैशीको भनाइलाई समर्थन गर्दै भने– ‘अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय हो । पार्टी भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन ।’



प्रतिक्रिया दिनुहोस्: