किरण साहलाई धरौटीमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

२०८२ भदौ १९

वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को शैलीमा प्रश्न गरेकी वीरगञ्जको मुर्ली बस्ने किरण साहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

जिल्ला अदालत पर्साका न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार साहलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो। पर्सा प्रहरीले बुधबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान फाइल बुझाएपछि आज (बिहीबार) अदालतमा बहस भएको थियो।

बाराको कलैया घर भएकी किरण साह वीरगन्जमा बस्दै आएकी छिन्। वीरगञ्जमा फैलिएको हैजा प्रकोप र साहकी आमाबाबुलाई समेतलाई हैजा लागेर अस्पताल भर्ना गरिएको विषयमा मन्त्री प्रदीप यादवलाई फोनमा आक्रोश ब्यक्त गर्दै संवादमा उनले मन्त्री यादवसँग तीव्र र आक्रोशपूर्ण कडा स्वरमा प्रश्न गर्दै केही धम्कीपूर्ण शब्द समेत प्रयोग गरेकी थिइन्।

मन्त्री यादव लाई फोन सम्वादको आधारमा मन्त्रीको सचिवालयले पर्सा प्रहरीमा उजुरी दिएपछि साहलाई पक्राउ गरिएको थियो । साहमाथि ज्यान मार्ने धम्की, झुटा अफवाह फैलाएको र विद्युतिय अपराध अन्तर्गत तीन वटा मुद्दा लगाएर अनुसन्धान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्: