बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले गरे शान्ति सुरक्षा कायम गर्दै सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्दता

२०८२ भदौ १७

कलैया । बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी सम्हालेका प्रकाश पौडेलले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्दै सुशासन प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी पौडेलले मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित बाराका सक्रिय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।

प्रमुख जिल्ला अधिकारी पौडेलले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारीताका साथ कार्यान्वयन गर्ने, सरकारी कार्यालयमा हुने ढिलासुस्ती हटाएर पारदर्शिता कायम गर्ने र नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउने कुरामा जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले जनशक्तिको अभावका बाबजुद पनि सेवाग्राहीलाई सेवा प्रवाहमा कुनै कमी आउन नदिने र लागुऔषध ओसारपसार बारे पत्रकारको प्रश्नमा उनले लागूऔषध ओसारपसार तथा सेवनलाई निर्मम ढंगले नियन्त्रण गर्न शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष रमेश सुवेदीले पछिल्लो समय पत्रकारहरूमाथि समाचारको विषयलाई लिएर गैर-राज्य पक्ष र राज्य पक्षबाट हुने धम्की र दबाबका घटनाहरूबारे प्रमुख जिल्ला अधिकारी पौडेलको ध्यानाकर्षण गराए। उनले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे।

परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र राष्ट्रिय अनुसन्धान विभागका एसपी सरोज निरौला र पत्रकार महासंघ मधेश प्रदेशका काेषाध्यक्ष अनिल गाैरव लगायत ३ दर्जन बढी क्रियाशील पत्रकारहरुको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्: