प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने सरकारको निर्णय

२०८२ भदौ १३

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा ३० वर्षे सेवा अवधि पुरा गरेर भदौ १८ गते अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रहरी प्रमुख नियुक्त भएका थिए ।

आईजीपी थापा २०५२ भदौ १९ मा प्रहरी निरीक्षकमा भर्ना भई प्रहरी सेवामा प्रवेश गरेका थिए। करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।

तेह्रथुममा जन्मेका खापुङ महानिरीक्षकका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

३२ औँ प्रहरी महानिरीक्षक बन्न लागेका खापुङ हालसम्म विवादमा परेका छैनन् । प्रहरी उपरीक्षक (एसपी) हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।

खापुङ प्रधानमन्त्रीको सुरक्षा प्रमुखको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनीसँग यूएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कमर्चारी प्रशासन प्रमुखसम्मको अनुभव छ ।

खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी पछिल्लो ब्याचका हुन् ।

प्रतिक्रिया दिनुहोस्: