काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयको मुद्दा उठाउन सुझाव दिएका छन् ।
शर्माले भारत र चीन दुवै छिमेकीको व्यवहारप्रति विरोध जनाउँदै प्रधानमन्त्री भ्रमणका बेला उठाउनुपर्ने विषयबारे सुझाउँदै लेखेका छन्, ‘ऎतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी छ । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश अति आवश्यक छ ।
लिपुलेकका विषयमा सर्वपक्षीय सर्वदलीय बैठक आह्वान गर्न पनि सरकारसँग माग गरेका छन् । सोही बैठकमार्फत विकसित घटनाक्रमबारे ऐक्यवद्ध भइ साझा प्रतिबद्धता निर्माण गर्नु पर्नेमा शर्माको जोड छ ।
हालसालै पुन: लिपुलेकको विषय उठेको सन्दर्भमा शर्माले आफ्नो धारणा राख्दै यस विषयमा सरकारले गर्नुपर्ने ६ पहल सुझाएका छन् ।
विश्वप्रकाशले सुझाएका ६ पहलहरू
१. सर्वदलीय- सर्वपक्षीय बैठक सरकारको आह्वानमा ।
२. बैठक मार्फत विकसित घटनाक्रममा हाम्रो एक्यवद्ध र साझा प्रतिबद्धता निर्माण ।
३. ३१ जेठ २०७७ मा संसदले, संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको `चुच्चे नक्सा´ प्रती देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता ।
४. भारत र चीन बिच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमति उपर नेपालले पठाएको कुटनैतिक नोट समेत स्मरण गराउँदै पछिल्लो सहमति उपर पुन: कुटनैतिक नोट ।
५. ऎतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषय प्रवेश।
६. नेपाल-भारत सिमा र सम्बन्धबारे बौद्धिक सुझावका लागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समुह EPG (Eminent Persons Group ) को ७ बर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य विषयहरु समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव ।



प्रतिक्रिया दिनुहोस्: