काठमाडौं । आइतबार गृहमन्त्री रमेश लेखकले सीआईबीको कार्यालय निरीक्षणका क्रममा निर्मला पन्त हत्या प्रकरण सूक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न, अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका छन् ।
‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु,’ गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेकोछ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’
मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको उनले जानकारी दिए ।
प्रहरी भित्र सीआइबीको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पुरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोड दिए ।
सो क्रममा सीआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुति राखेका थिए । वरिष्ठ उपरीक्षक बोगटीले सीआइबीले निर्मला पन्त प्रकरणका साथै अरू घटना सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सीआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ् लगायत सीआइबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्: