पानी माग्दै जनकपुरमा प्रदर्शन

२०८२ साउन १२

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पानी माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघले प्रदर्शन गरेको छ ।

भ्रष्ट सरकार पानी दे, राहत प्याकेज घोषणा गर, किसान मार्न पाइँदैन, किसान विरोधी सरकार होसियार, चुरे दोहन बन्द गर लगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।

जनकपुरधामको जनक चोकबाट मधेश सरकारविरुद्ध विभिन्न भागमा निस्केको जुलुस विभिन्न नारासहितको प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालयमा चार बुँदे र मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

अवैध चुरे दोहन रोक्नु पर्ने, मल खाद्यको व्यवस्था गर्नुपर्ने लगायत प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटमा दुईवटा रेड बुक बनाएको विषयमा छानबिन गर्नुपर्ने माग सहित मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

त्यस्तै धनुषाको प्रमुख जिल्ला अधिकारी शंकरहरि अर्चाय मार्फत संघीय सरकारलाई बुझाएको ज्ञापनपत्रमा संघीय सरकारले ल्याउन लागेको भूमि विधेयक खारेज वा संशोधन गर्नुपर्ने, तत्काल मल र बिउको व्यवस्था गर्नुपर्ने, सुक्खा ग्रस्तबाट बच्न र पानीको दीर्घकालिन योजना ल्याउनु पर्ने र किसान र कृषि क्षेत्रलाई समेट्ने गरी योजना ल्याउनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: