काठमाडौं । भारत सरकारले मधेश प्रदेशका तीन विद्यालयसहित देशभरका पाँच सामुदायिक विकास परियोजनाका लागि झण्डै ३९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ ।
काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय कार्यान्वयन निकायहरूबीच सोमबार औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
मधेश प्रदेश अन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेंगा साह माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागि भारत सरकारले ५ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग प्रदान गर्नेछ ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका–६ स्थित एक विद्यालयका लागि १० करोड ४२ लाख रुपैयाँको अनुदान प्रदान गरिनेछ । नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत करिब ६ सय ५० विद्यार्थी रहेको यो विद्यालयमा आधुनिक तीनतले शैक्षिक भवन, प्रशासनिक ब्लक, गेट तथा गार्ड हाउस, शौचालय, बाउन्ड्री वाल, ल्यान्डस्केपिङ, खानेपानी तथा विद्युत् सुविधासहित आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
त्यसैगरी, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–३ मा अवस्थित श्री जनशक्ति माध्यमिक विद्यालयका लागि ५ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । कक्षा प्लेग्रुपदेखि कक्षा १० सम्मका ३ सय ४० विद्यार्थी अध्ययनरत यस विद्यालयमा पनि शैक्षिक भवन र आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
आजको सम्झौतापत्रमा हस्ताक्षर भएका पाँच उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कुल अनुमानित लागत ३९ करोड रुपैयाँ रहेको छ । तीमध्ये तीनवटा मधेश प्रदेशका बारा, पर्सा र धनुषा जिल्लामा केन्द्रित छन् ।
भारत सरकारको यो सहयोग नेपाली जनताको सामाजिक-आर्थिक उत्थानमा केन्द्रित रहेको दूतावासले जनाएको छ । शिक्षा क्षेत्रमा गरिएको यो पहलले दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई झनै मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्: