मधेशमा खानेपानी संकट टार्न वारुणयन्त्रमार्फत पानी बाँड्दै

२०८२ साउन १

जनकपुरधाम । बारा पर्सा लगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ ।

बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको बताएका छन् ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाइएको हो । प्रत्येक वारुणयन्त्रले ५ हजार लिटर क्षमताका दरले एकै पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्ने जनाएको छ ।

वारुणयन्त्रहरूको सञ्चालन नेपाली सेनाले गर्नेछ र प्रदेश सरकारले व्यवस्थापन गर्नेछ भने थप ट्याङ्करहरू पनि पठाउने तयारी भइरहेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको उल्लेख गर्दै वारुणयन्त्रहरू २४ घण्टा सञ्चालनमा रहने बताए।

यस्तै, नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर एउटा वारुणयन्त्र समेत पठाउने तयारी भइरहेको जनाइएको छ।

खानेपानी संकटले प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले प्रदेश सरकारले सबै संयन्त्र र स्रोत परिचालन गरेको जनाएको छ ।

सुक्खा र खानेपानी संकटका कारण पिडित नागरिकसँग प्रदेश सरकार साथमा छ । संघीय सरकार, स्थानीय सरकार र दातृ निकायहरूसँग समन्वय गरी साधनस्रोतको अधिकतम प्रयोग गरेर समस्या समाधान गर्ने प्रयासमा छौं,’ मुख्यमन्त्री सिंहले भने ।

 

प्रतिक्रिया दिनुहोस्: