सिमरा । बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बुधबार नगरको १२ औं नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक समावेशीतामा विशेष प्राथमिकता दिइएको छ । ‘आत्मनिर्भर, सक्षम एवं जनमुखी स्थानीय सरकार, समृद्ध र सुशासनयुक्त जीतपुर-सिमरा’ भन्ने नारासहित बजेटले समावेशी विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेको छ ।
उपमहानगरपालिकाले आगामी आ.व.का लागि बैंक मौज्दातसहित ४७ करोड ४ लाख २३ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको छ, भने संघीय र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष, सम्पुरक तथा अन्य अनुदानमार्फत बाँकी रकम जुटाइने लक्ष्य राखेको छ ।
बजेटमा अनुमानित समानीकरण अनुदानबाट ३२ करोड ५ लाख, संघीय सरकारबाट ५६ करोड ८१ लाख ७७ हजार र विशेष अनुदानबाट १ करोड ३ लाख रुपैयाँको लक्ष्य राखिएको छ । त्यस्तै, राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशन, विज्ञापन कर तथा निर्माण सामग्री लगायतबाट ५२ करोड ७४ लाख रुपैयाँको अनुमानित लक्ष्य गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्: