एमालेको सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा

२०८२ असार १४

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा पुनः जोडिएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

उनले जनताको सुख र राष्ट्रको समृद्धिका लागि आफ्नो दायित्व पूरा भइनसकेकाले फेरि सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी हुन् । भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको र अब एमालेको परिवारको सदस्यका रूपमा राजनीतिमा सक्रिय रहने भण्डारीको भनाइ थियो ।

शनिबार जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोह कार्यक्रममा बोल्दै उनले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा समेत गरिन्। उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।

‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो, जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो, राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भावुक सम्बोधन गर्दै भनिन्, ‘आज तपाईँहरूका बीचमा हुँदा मदन भण्डारीका यी भनाईहरू मैले पुन: स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’

उनले यी भनाइलाई आदर्श मानेर समर्पित बनिरहेको भन्दै उनले भनेकी छिन्, ‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्: