काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

२०८२ असार ४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे लाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ।

बुधबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

अदालतले पाण्डेले दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उनलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको छ। यो आदेशसँगै पाण्डे तत्कालका लागि आफ्नो पदमा फर्किन पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्: