काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा (समाजवादी)को अध्यक्ष समेत रहेका माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो ।
नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।
अख्तियारले भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण सञ्चालक रहेको पतञ्जलीलाई दिएको जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
पतञ्जलीले काभ्रेमा आयुर्वेदिक अस्पताल, अनुसन्धान केन्द्र, योगशाला, औषधी उद्योग, गाई फार्म र जडीबुटी खेतीजस्ता सामाजिक कार्य गर्ने भन्दै जग्गा खरिद गरेको थियो। तर खरिदको केही महिनापछि नै पतञ्जलीका नेपाल प्रतिनिधि शालिग्राम सिंहले उक्त जग्गा सट्टापट्टा र अन्यत्र स्थानान्तरण गर्न अनुमति माग्दै निवेदन दिएका थिए।
माधव नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ माघ १८ गते पतञ्जली योगपीठ नेपाललाई काभ्रेपलाञ्चोकमा अवस्थित ८१५ रोपनी जग्गा हदबन्दी छुट अन्तर्गत खरिद गर्न अनुमति दिएको थियो। अख्तियारले सोही निर्णयमा अनियमितता भएको भन्दै मुद्दा दायर गरेको हो।
माधव नेपालको सांसद पद निलम्बन
भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको र मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।



प्रतिक्रिया दिनुहोस्: