काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधित्व गरेकी प्रतिनिधि सभा सदस्य प्रकाश अधिकारीले चोर बाटोबाट गैर नेपालीले समेत नेपाली नागरिकता लिएको बताएका छन् ।
आज (बुधबार) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिंदै उनले भने, ‘कतिपय वास्तविक नेपाली नागरिक बन्न सकेका छैनन् । तर, चोर बाटोबाट हजारौं हजार गैर नेपालीले नागरिकता लिइसकेका छन्।’
नेपालभित्रै रहेका सुकुमबासीलाई नागरिकता लिन समस्या रहेको छ, दलित बस्तीहरूका नागरिकलाई नेपाली नागरिकता लिन समस्या रहेको समेत बताए । जग्गा जमिनको लालपुर्जा नभएकालाई नागरिकता लिनमा अप्ठ्यारो पर्ने गरेको बताए । यी समस्यालाई समेत ख्याल गरेर नागरिकता ऐन संशोधन गर्न आवश्यक रहेको उनले बताए ।
नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गर्ने र पछि कुनै कारणवश त्यस्तो पुरुषसँग सम्बन्ध विच्छेद भएको हकमा फेरि नेपाल आएर नेपाली नागरिकता लिएर बस्ने अवस्था रहेको उनले बताए । यो गम्भीर विषय रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।



प्रतिक्रिया दिनुहोस्: