राजतन्त्र फर्किने सपना नदेख्न आग्रह, एमाले प्रतिगमन रोक्ने अभियानमा: प्रधानमन्त्री ओली

२०८२ जेष्ठ १०

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानमा एमाले पार्टी रहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्लेख गर्दै उनले भने, ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।’

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोक्ने अग्र भागमा युवा सङ्घ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट पारे ।

युवा सङ्घको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नअटेका हरेको व्यवस्थापन हुने भएकाले लुछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्: