मिडियाले नेपाली भाषाको उचाई घटाएको छ : प्रधानमन्त्री ओली

२०८२ बैशाख २४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त असन्तुष्टि व्यक्त गरेका हुन् ।

गोरखापत्रले मात्रै नेपाली भाषाको सम्मान गरेको तर्क गर्दै उनले खासगरी ‘तिमी’ सम्बोधन गरेकोमा विमति राखेका हुन् ।

नेपाली भाषा विश्वकै धनी भाषा भएको भन्दै। उनले अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताए ।

प्रधानमन्त्री ओलीले अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ । नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन । राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे ज्यूनार हुन्थ्यो । बस्दैथे, आराम गर्थे । सुन्दैनथे श्रमण हुन्थ्यो । राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ?

उनले यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो । त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर । जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’

गोरखापत्रलाई नेपाली भाषाको शुद्धताको मानक मानिन्छ । कुनै पनि समाचारपत्रले भन्दा भाषिक आन्दोलन बचाउने कुरामा गोरखापत्र अगाडि छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् । गोरखापत्रले सिंगो समाजको साँच्चै सेवा गरेर गुन लगाएको ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरु भाषामा नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्: