काठमाडौं । नेकपा माओवादी (केन्द्र)ले जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ ।
आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अर्को चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभियान कुन ठाउँबाट सुरु गर्ने भन्ने विषयमा ठोस निर्णय भइनसकेको तथा विस्तृत कार्यक्रमलाई विस्तृत मुर्तरूप दिन अर्को बैठकले निर्णय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार भर्खर सम्पन्न भएको पहिलो चरणको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ ।
अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको ठहर छ । अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति बैठकले धन्यवाद ज्ञापन गरेको सापकोटाले बताए ।
पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्: