काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए ।
‘श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता, विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पुर्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध हुनुपर्ने मा ,’ प्रधानमन्त्री जोड दिए ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र ‘डिजिटल’ अर्थतन्त्रको निर्माण, प्रविधिको प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य हासिल गर्न र सबै नेपालीलाई सरल तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुने बताए।
श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । त्यहाँबाट श्रम तथा रोजगार सम्बन्धित विषय, माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाताको नियमन, रोजगार सेवामा पहुँच कायम गर्न तथा सङ्घीयताको लाभ जनस्तरसम्म पुुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
प्रधानमन्त्री ओलीले, सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढाएको बताए । सरकारले आगामी दशकलाई आन्तरिक सेवा प्रवर्द्धन दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी हुन प्रधानमन्त्री ओलीले आह्वान गरे ।



प्रतिक्रिया दिनुहोस्: