संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा श्रमिकको महत्वपूर्ण योगदान रहेको प्रचण्डद्वारा स्मरण

२०८२ बैशाख १८

१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूको महत्त्वपूर्ण योगदान बारे स्मरण गरेका छन् ।

उनले श्रमिकहरूकै संघर्ष र योगदानले देशमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित भएको बताएका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल सहित विश्वभरका श्रमजीवी वर्गमा ऐक्यबद्धता प्रकट गरेका छन्।

उनले ‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा सहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो। आर्थिक समृद्धि सहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको शुभकामना सन्देशमा भनेका छन् ।

प्रचण्डले आठ घण्टा कार्यदिनको मागसहित आफ्ना अधिकारका लागि अमेरिकाको शिकागो सहरका मजदूरहरूले गरेको ऐतिहासिक संघर्षलाई स्मरण गर्दै मे १ लाई नेपाललगायत विश्वभरका मजदूरहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउँदै आएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: