आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ बैशाख १८

काठमाडौँ । मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ। आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍यो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा वि.स. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र २००७ सालको परिवर्तनसँगै औधोगिक मजदुरले यो दिवस मनाइन थालिएको हो ।

नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलोपटक २०१९ सालमा नेपाल मजदुर संगठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो।

मे दिवस अर्थात् मजदुर दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।

 

प्रतिक्रिया दिनुहोस्: