काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच १५ असारभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति जुटेको छ ।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई प्रतिनिधि सभाबाट यथाशीघ्र पारित गरिने सत्तापक्षका नेताहरूले लिखित प्रतिबद्धता जनाएका छन् । 
नेपाल शिक्षक महासङ्घको आह्वानमा २०८१ चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षक तथा कर्मचारीहरूको पेशागत आन्दोलनका सन्दर्भमा प्रमुख सत्तारुढ दलका नेताहरूले संयुक्त रुपमा जारी गरेको प्रतिबद्धता पत्रमा विद्यालय शिक्षा विधेयक २०८० चालु संसद् अधिवेशनभित्र अर्थात २०८२ असार १५ गतेभित्र पारित गराउने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले हस्ताक्षर गरेको उक्त प्रतिबद्धता पत्रमा संसदमा विधेयकबारे सैद्धान्तिक छलफल सम्पन्न भइसकेको र समितिमा उपसमिति गठन गरी दफावार छलफल भइरहेको जनाइएको छ ।
उक्त प्रतिबद्धतासँगै नेपाल शिक्षक महासंघले जारी गरेको आन्दोलन हाललाई स्थगित गरिएको छ र सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई पुनः नियमित शैक्षिक गतिविधिमा फर्कन आग्रह गरिएको छ ।
सत्तापक्षका नेताहरूको यो प्रतिबद्धतालाई शिक्षक महासंघले सकारात्मक रुपमा लिदै ऐन तोकिएको मिति भित्र पारित नभए पुनः सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । महासंघले सहमतिसँगै आन्दोलन स्थगित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्: