रवि लामिछाने सहित ४१ जनाविरुद्ध मुद्दा दर्ताको तयारी

२०८२ बैशाख १४

वीरगञ्ज । पर्साको वीरगञ्जमा रहेको सानो पाइला सहकारी ठगीको अनुसन्धान मिसिल पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान पुरा गरेर शुक्रबार मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो। यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ४१ जनालाई प्रतिवादी बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, मिसिलमा ३० जना व्यक्ति, तीनवटा सहकारी र आठवटा कम्पनीलाई प्रतिवादी बनाइएको छ । कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गरिएको छ । अनुसन्धानका क्रममा सानो पाइलाबाट १० करोड ६ लाख ९४ हजार रुपैयाँ गोरखा मिडियामा गएको देखिएको छ । रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने राय प्रहरीले दिएको छ । लामिछाने अहिले रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा छन्।

सोही सहकारीमा पुर्पक्षमा भैरहवा कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशीसँग भने ३ करोड २४ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने प्रहरीको राय छ ।

सहकारी ठगी प्रकरणको मुख्य नाइके भनिएका फरार प्रतिवादी जीबी राईविरुद्ध भने १० करोड ८१ लाख बिगो मागदाबी हुनुपर्ने सुझाव प्रहरीको छ । थुनामै रहेका मेयर देवकुमार नेपालीसँग भने १५ करोड ५३ लाख रुपैयाँ बिगो मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्नुपर्ने सुझाव प्रहरीको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा भने अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।

प्रहरीले प्रतिवादीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन सिफारिस गरेको छ।

रवि लामिछानेसहित केही प्रतिवादीको हकमा कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिसकेकाले, अन्य प्रतिवादीको हकमा मात्र सम्पत्ति शुद्धीकरणको मुद्दा चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्: