कविता: ऐ सरकार

२०८२ बैशाख ११

काठमाडौं ।

ए सरकार तिमि को हौ ?

आक्रोशका बिया फुटाउदै

जनताले दलानमै अन्दोलनको

सुनामी चलाइरहदा

झ्याल ढोका थुनेर चुपचाप सुतिरहने

तिमि कुन युगको कुम्भकर्ण हौ ??

जनताको भावनामा ताल्चा मार्दै

मगन्तेको झोलिमा आगो सल्काउदै

बेचिएको नैतिकता र

भाँचिएको स्वाभिमान बोकेर

निष्पटताको क्यान्भाष भित्र

एक्लै बर्बराइरहने कुन

क्रूर शासक हौ तिमि ?

नयाँ ऐन जारी गर्देऊ भन्दै

लाखौं शिक्षक तिम्रो ढोकामा कराइरहदा

अघाएको बाघ झै घुरिरहने

कुन परजीवी थार्किनो हौ तिमि ?

अधिकारको बागडोर

आफ्नो गोजिमा राखेर

सिंह ले झैं !आलो पालोमा

नेपालीहरुको भिड्मा सिकार खेलिरहने

कुन तन्त्रका महाराज हौ तिमि ???

थुक ले तिर्खा मेटाएर गरिबीको पहरामा

अल्झिएका हरुको खुन र पसिनामा

पौडी खेलिरहने ! कुन अहंकारी

गुरीला हौ तिमि ?

ए सरकार !!

करोडौं मनहरुको हत्या गरेर

लत्पत्यको रगत पखाल्न

मन्दिर धाउने कुन कंश हौ तिमि ??

माथिल्लो धन्सार भित्र बसेर

दुध पिलाउने मालिकलाई डसिरहने

कुन कालो गोमन हौ तिमि ??

ए सरकार !!

हाम्रो बोल्ने अधिकार छैन भने

हाम्रा आवाजको सुनुवाइ हुँदैन भने

हाम्रा रक्त केशिका बाट हटाइदेउ नेपाली नाम र

झिकिदेउ तिम्रो संविधानको दफाबाट

नेपाली नागरिकताको नम्बर र

हटाइदेउ हाम्रा रक्तकेशिका बाट नेपाली नाम  !!

होइन भने हामीले के अपराध गर्यौं सरकार !!

तिमि संग तिम्रो अंश माग्न आएक हैनौ

तिम्रो आगनमा कुनै दाइजो

माग्न आएका होइनौ

“मात्रै तिम्रो कब्जामा रहेको ”

एक थान नयाँ ऐन माग्न आएका हौं ।

यदि !!

तिम्रो कलमका निपहरुले

कालो मसि रुचाएन भने

आउ सडकमा छ्प्क्याइदेउ हाम्रा शिरहरु

उठाएर लैजाउ सिंहदरबारमा तातो रगत

भरिदेउ रित्ता निर्जन कमहरु र

लेखिदेउ रातो मसिले एक थान नयाँ ऐन

अनि !!सुनाइदेउ भावी पुस्तालाई

नयाँ ऐन जारि भएको कुरा ….।

शिक्षिका  प्रतिमा पोख्रेल ( नयाँ सृष्टि )                          श्री पञ्चकन्या आधारभूत विद्यालय

याकु कट्टी, अरुण गाउँपालिका – ५ भोजपुर

 

प्रतिक्रिया दिनुहोस्: