पत्रकार सुरेश रजकको पोस्टमार्टम, जलेर मृत्यु भएको पुष्टि

२०८१ चैत्र १९

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

उनको शरीरमा गोली भेटिएन, मृत्युको कारण जलेर भएको निष्कर्ष निकालियो,’ ती चिकित्सकले भने, ‘बाहिर हल्ला भएको जस्तो मारेर जलाएको भन्ने कुरा पोस्टमार्टमको रिपोर्टमा देखिएन ।’

ती चिकित्सकका अनुसार, ‘श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियो । जब आगो लाग्यो, उहाँ जीवित नै हुनुहुन्थो भन्ने कुराको पुष्टि भयो । उहाँको मृत्युको कारण जलेर भएको हो ।’

हिजो साँझ उनको एक्स–रे गरिएको थियो । एक्स–रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो ।रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । केही मिडिया तथा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरू सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका थिए । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको ती डाक्टरले बताए ।

प्रतिक्रिया दिनुहोस्: