काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई अपील गरेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो ।
प्रदर्शनका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले विज्ञप्तिमार्फत चासो राखेको छ ।
बिहीबार आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदर्शनलाई नै मध्यनजर गरेर उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरिएको उल्लेख छ ।
छलफलका क्रममा सुरक्षा अधिकारीले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताएका छन् । आयोगका अध्यक्ष तोप बहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्नसमेत निर्देशन दिएका छन् ।
आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोगले आग्रह गरेको छ । त्यस्तै उत्पन्न परिस्थितिको आकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकार प्रति संवेदनशील हुन सरकार र सुरक्षा अधिकारीलाई आयोगले अपिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्: