प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बैठक बस्दै

२०८१ चैत्र १२

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो ।

प्रतिनिधि सभाको बैठकबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

पटक–पटक कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यो विधेयक अगाडि नबढेको भनेर विषय उठ्दै आएको थियो । लामो समयसम्म सभामा रोकिएको भनेर आलोचना समेत भएको पृष्ठभूमिमा यो विधेयक अगाडि बढाउन लागिएको हो ।

यसैगरी बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक पनि टेबुल गरिने छ ।

राष्ट्रिय सभाको बैठकमा भने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।

 

प्रतिक्रिया दिनुहोस्: