भुटानी शरणार्थी प्रकरणमा बेचन झाको थुनामुक्तिको रिट खारेज

२०८१ चैत्र ३

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले थुनामुक्तिको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार उक्त रिट खारेज गरिदिएको हो।

झाले गत माघ २ गते थुनामुक्तिको मागसहित निवेदन दायर गरेका थिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीमा झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले गत असार १३ गते उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो ।

पर्साको वीरगन्ज उपमहानगरपालिका-७ का ६६ वर्षिय झाविरुद्ध ठगी, किर्ते लिखत, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो । झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

उनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ।

यही कसुरमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु पुर्पक्षका लागि थुनामै छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अधिकांस प्रतिवादीहरु भने उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: