रौतहट । रौतहटको चन्द्रपुर (चन्द्रनिगाहपुर)मा सञ्चालनमा रहेका १० वटा निजी अस्पताल अनुगमनका क्रममा दर्ता नभएका र नियमविपरीत संचालनमा रहेको पाए पछि मधेश प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले बन्द गर्न निर्देशन दिएका छन् ।
चन्द्रपुर–४ (चन्सद्रनिगाहपुर)मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार पुगेका मुख्यमन्त्री सिंहले मापदण्ड र दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका थिए । उनी अनुगमनमा आएको सुइँको पाएपछि आधा दर्जन अस्पतालका सञ्चालक सटर बन्द गरेर भागेका थिए ।
चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, सिम्स अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल दर्ता र मापदण्डविपरीत चलाइएको पाएकाले बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
उनी अनुगमनमा आउँदा पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रका एपोलो अस्पताल सञ्चालक सटर बन्द गरेर भागेका थिए ।
उनले प्रक्रिया पुर्याएर मापदण्ड अनुसार सञ्चालन गर्छन् भने ठिक छ, अन्यथा हामी कानुनको दायरमा ल्याउँछौं, कारबाही गरेरै छाड्छौं ।’ बन्द गर्न भनिएका अस्पताल आइतबार बिहानदेखि खुला गरेको छ/छैन भनेर पुनः निगरानी गर्न मुख्यमन्त्री सिंहले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईलाई निर्देशन समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्: