पूर्वराजालाई माओवादीको चुनौती, चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ

२०८१ फाल्गुन १३

काठमाडौं । नेकपा माओवाद केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन भनेको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट बोल्दै माओवादी सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको छ। पूर्वराजालाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने र राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो,’ उनले भनिन् ।

अहिलेको संविधान निरंकुश छैन, सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ । त्यतातिर जान उपयुक्त हुन्छ । अन्यथा धेरै चुरीफुरी गर्न आवश्यक छैन,’ सांसद शर्माले भनिन् ।

माओवादी सांसद शर्माले राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्नका लागि जनताले गरेको संघर्ष ख्याल गरेर आफ्ना अभिव्यक्ति राख्न समेत आग्रह गरेकी छन् ।

२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । जनताका जनप्रतिनिधिहरूले संविधान सभाबाट गरेको निर्णयलाई पूर्वराजा ज्ञानेन्द्रले त्याग गरेको रुपमा व्याख्या गरेपछि संसद्मै त्यसको विरोध गर्दै आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्: