व्यवस्था बदल्नेले अवस्था परिवर्तन गर्न सकेनन्
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको आरोप लगाएका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै पूर्व राजा शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद् भएको टिप्पणी गरेका छन् । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई उनले आह्वान गरे ।
जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको बताए ।
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उनले वर्णन गरे । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने, प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले बताए ।
‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन’, ‘पक्ष विपक्षको अहंकार आआफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन शाहले भिडियो वक्तव्यमा भनेका छन्,।
देशको इतिहास मेटिँदै गएको अनुभूति पूर्व राजा शाहले गरेका छन् । नेपालीको पसिना स्वदेशमा नभई बाहिर पोखिएको शाहले बताए । ‘जन्मदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ,’ शाहले भने । विद्यार्थी र शिक्षक पातलिँदै गएको र व्यवसाय, व्यापार निरन्तर धरासायी भएको शाहको बुझाइ छ ।



प्रतिक्रिया दिनुहोस्: