राजेन्द्र पाण्डेले भने, वर्तमान सरकारले निरंकुश शासनको झल्को दियो

२०८१ माघ १८

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष सांसद राजेन्द्र पाण्डेले सरकारले ६ महिनामा देखाउने कुनै काम गर्न नसकेपछि अध्यादेशको सहरा लिएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्रका सांसदलाई बाध्य पारेर अध्यादेश पारित गरिनुपर्ने अवस्था सिर्जना गर्न लागिएको बताए ।

यसमा खेल्ने, छलफल गर्ने ठाउँ छैन भन्ने देखिन्छ’, उनले भने, ‘दुई तिहाइ छ जेजे मन लाग्यो त्यही गरे भइगयो त । सेतोलाई कालो, कालोलाई सेतो भन्नुस् । जे मनलाग्यो त्यही गर्न दुई तिहाइ हो ?’

नेता पाण्डेले दुई तिहाइको घमण्ड नगर्न आग्रह गर्दै अध्यादेशले निरंकुश शासनको झल्को दिएको बताए। उनले सरकार विरोधीलाई दमन गर्न सरकार लागेको भन्दै सहकारी समस्या जस्ताको तस्तै रहेको बताए। उनले संविधान संशोधन गर्ने भनेर दुई दलबिच गठबन्धन भएपनि अहिले त्यो विषय कहाँ हरायो ? भन्दै प्रश्न गरे ।

आर्थिक सूचक सकारात्मक नभएको भन्दै युवाहरू दैनिक विदेश जाने क्रम नरोकिएको र गाउँ खालि भएको नेता पाण्डेले बताए ।  उनले बुढिगण्डकी आयोजनामा केही समयभित्र सुरु नभए धादिङ र गोरखाका जनताले राजमार्ग छेक्नुपर्ने अवस्था आउने समेत चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्: