जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत रब फेनले जनकपुर स्थित जानकी मन्दिरमा श्रीमती जुलिया फेनसँग आफ्नो २२ औं वैवाहिक वर्षगाठ मनाएका छन् । उनी मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।
त्रेतायुगमा भगवान् रामले जनकपुरमै विवाह गरेकाले आफ्नो वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको राजदूत फेनले बताए । फेनकी धर्मपत्नी जुलियाले पनि मिथिलामा दुल्हनले सौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएकी थिइन् । बेहुला र बेहुलीले लगनगाँठो कसेझैँ जानकी मन्दिरका महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरूले जानकी मन्दिरमा दर्शन पनि गरे ।
जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिए भने फेनले जुलियालाई अँगुठी पनि पहिराएका थिए । उनीहरूले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रीतिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए ।
राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लागेको बताए ।
गत वर्ष मधेशका विभिन्न स्थानहरूको भ्रमणका क्रममा मैले मिथिलाको सांस्कृतिक धरोहरको महत्त्व बुझेँ। यस क्षेत्रको अतुलनीय सौन्दर्यले मलाई यो वर्षगाँठ यहाँ मनाउन प्रेरित गर्यो’, राजदूत फेनले भने।
राजदूत फेनको वैवाहिक वर्यषगाँठमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका मेयर मनोजकुमार साहसहितले दुवैजनालाई बधाई दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्: