प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

२०८१ मंसिर २७

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । भारत औपचारिक भ्रमणमा रहेका सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही मंसिर ६ गते भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरतास्वरूप नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ ।

प्रधानसेनापति सिग्देलले आजै भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका छन् । त्यसैगरी, उनले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: