कलैया । बाराको महागढीमाई नगरपालिकाको वरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेलामा दर्शनार्थीहरूको घुइॅंचो बढ्न थालेको छ । गढीमाई मेला मूल व्यवस्थापन समितिका अनुसार यही मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिबार दिउसोसम्म करिब ४० लाख दर्शनार्थीहरू मेलामा आइसकेका छन् ।
गढीमाई मेलाको विशेष पूजा (सप्तमीको दिन)नजिकिएसॅंगै मेलामा दर्शनार्थीहरूको भिड बढेको मूल पुजारी शिव चौधरी बताउँछन् । बिहानैदेखि गढीमाई माताको दर्शन गर्न देशका विभिन्न जिल्लासहित विदेशबाट समेत लाखौँको सङ्ख्यामा भक्तजनहरू आएका छन् ।
गढीमाई मेलामा भोलि र पर्सी गढीमाइ मेलामा बलि दिइनेछ । भोली राँगा बलि तथा पर्सी बोका बलि हुने समितिले बताएको छ ।
भोली आइतबार विशेष पूजापछि पशु बलि दिने क्रम सुरु हुने मूल पुजारी शिव चौधरीको भनाइ छ । उनका अनुसार नर बलि दिएपछि मात्र गढीमाई मेलामा पशु बलि दिन सुरु गरिनेछ ।
अहिले पशु बलिको लागि मेलामा करिब ५ हजार राँगा आइसकेको र अझै राँगा आउने क्रम जारी रहेको बलि व्यवस्थापन उपसमितिले जनाएको छ । गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार यस वर्ष १७ हजार बलि चढ्ने अनुमान छ । मेलामा यो वर्ष करिब ३ करोड दर्शनार्थीले अवलोकन गर्ने गढीमाई मेला मूल व्यवस्थापन समितिको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार गढीमाई मेलामा आउने भक्तजनहरूको भीड बढ्न थालेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भक्तजनहरूको गतिविधिमा निगरानी तथा चेकजाँचमा कडाइ पारिएको छ ।
मेलालाई सभ्य, भव्य एवम् व्यवस्थित बनाउन सुरक्षा व्यवस्था एकदम कडा बनाइएको हो । मेलामा दर्शनार्थीहरूको सुरक्षाका लागि तीन हजारको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
यसको अलावा नगर प्रहरी, स्वयंसेवकहरू समेत भक्तजनहरूको सुरक्षार्थ खटिएका छन् भने सूक्ष्म तारिकाले सबैको निगरानीका लागि ३५० भन्दा बढी सिसिटिभी क्यामरा जडान गरिएको छ ।
मेलामा दर्शनार्थीहरूको सुरक्षासँगै बास, खाना लगायतको सुविधा समेत उपलब्ध गराइएको मेला समितिले जनाएका छन् । साथै दर्शनार्थीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले मन्दिरमा ब्यारेकेटिङ गरेर व्यवस्थित बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्: