काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँमा ल्याइएको छ ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानको लागि उनलाई बुद्ध एयरबाट काठमाडौँ ल्याइएको हो । लामिछाने विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।
रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुङ्गा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।



प्रतिक्रिया दिनुहोस्: