काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढंगले नीति तर्जुमा गरिने बताएका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरूले नयाँ ढंगले काम गरिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टी गफ गर्नेभन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्ट कै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुुरक्षाका कार्यक्रम ल्याउन प्रेरणा मिलेको जिकिर गरे ।
सामाजिक सुरक्षा कार्यक्रम थालनी भएको सात वर्षमा उल्लेखनीय काम भएको र आगामी एक वर्षभित्र सामाजिक सुरक्षा कार्यक्रमको अवस्थामा अहिलेको भन्दा प्रगति भएको अवस्था हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रममा पालिका स्तरबाट अगुवाइ गर्ने फेदीखोला गाउँ पालिकाका अध्यक्ष घनश्याम सुवेदी, भीमफेदी गाउँ पालिकाका अध्यक्ष हृदम लामा, बाँसगढी नगरपालिकाका प्रमुुख खड्गबहादुर खड्का, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँलाई प्रधानमन्त्री ओलीले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले कोष मजदुर मैत्री नभएको गुनासो गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्: