उपनिर्वाचन: अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना

२०८१ मंसिर ९

काठमाडौँ । मंसिर १६ गते हुनलागेको उपनिर्वाचनका क्रममा मतदानको दिन अनुमतिविनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।

ऐन विपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरको लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको’ आयोगले आइतबार विज्ञप्तिमार्फत सूचित गराएको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २५(१) मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको पनि आयोगले स्मरण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: