जेष्ठ नागरिकको उपचारमा छुट्टै व्यवस्था गर्न प्रधानमन्त्रीलाई डा.बाबुराम भट्टराईको आग्रह

२०८१ मंसिर ८

काठमाडौं । ज्येष्ठ नागरिकका लागि छुट्टै उपचारको व्यवस्था गर्न  पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका हुन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल मार्फत छुट्टै ज्येष्ठ नागरिक अस्पताल तथा त्यो नभएसम्म सबै अस्पतालहरूमा छुट्टै वार्डहरूको व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार आफ्नो बुवालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको तस्वीर सार्वजनिक गरेका थिए ।

भट्टराईले ओलीका बुवाको स्वास्थ्यलाभको कामना गर्दै आफ्ना ९५ वर्षीय बुवालाई पनि आजै वीर अस्पताल भर्ना गरेको उल्लेख गरेका छन् ।

हामी नेपालीहरूको पनि औसत आयु क्रमशः बढ्दै गएको र ज्येष्ठ नागरिकहरूको संख्या स्वत: बढ्दै जाने अवस्थामा छुट्टै ज्येष्ठ नागरिक अस्पताल अथवा त्यो नभएसम्म सबै अस्पतालहरूमा छुट्टै वार्डको व्यवस्था गरौं न’ प्रधानमन्त्री ओलीलाई भट्टराईको प्रस्ताव छ ।

प्रधानमन्त्री ओलीका अनुसार उनका बुवा मोहनप्रसाद शर्माको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्: