काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवम् जुम्लाबाट प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
बुधवार जुम्ला पुगेका प्रधानमन्त्री ओलीलाई शाहीले कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा आत्मनिर्भर कृषि उत्पादन, प्रतिष्ठानका पदहरूमा योग्यताको आधारमा नियुक्ति, कर्मचारीको व्यवस्थापन र तलब–भत्तामा सुधार लगायत माग रहेका छन् ।
१० बुँदे माग
१,आत्मनिर्भर कृषि उत्पादन : स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकीकरण गर्दै साना तथा ठुला किसानलाई आर्थिक रूपमा सबल बनाउन सरकारी विधेयक ल्याउन आग्रह गरिएको छ।
२,प्रतिष्ठानका पदहरूमा योग्यताको आधारमा नियुक्त : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा राजनीतिक नियुक्तिको सट्टा योग्य व्यक्तिहरू नियुक्त गर्न माग।
३,कर्मचारीको व्यवस्थापन र तलब -भत्ता सुधार : लामो समयदेखि तलब) भत्तामा अनियमितता भोग्दै आएका स्थायी शिक्षक तथा कर्मचारीहरूको व्यवस्थापन गर्दै अनावश्यक राजनीतिक नियुक्ति रोक्न माग।
४,डायलिसिस मेसिनको संचालन : दक्ष जनशक्तिको अभावमा सञ्चालनमा नआएको डायलिसिस मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन।
५,प्राध्यापक र सहप्राध्यापकको नियुक्ति : अस्पताल सेवा र शैक्षिक कार्यक्रममा अवरोध नहोस् भनी प्राध्यापक र सहप्राध्यापक पदमा शीघ्र नियुक्ति गरियोस्।
६,स्याउ कर्पोरेसनको स्थापना : जुम्लामा उत्पादन भएको स्याउ उचित मूल्यमा खरिद गरी बजार व्यवस्थापन गर्ने स्याउ कर्पोरेसनको स्थापनाको माग।
७,शिक्षक, विद्यार्थी आवास र स्वास्थ्य उपकरणको बजेट : एमआरआई मेसिन लगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गरियोस्।
८,कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति : फलफूल, जडीबुटी र बन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालयलाई थप बजेटको व्यवस्थासहित स्तरोन्नति गरियोस्।
९,फलफूल विकास कार्यालय स्थापना : स्याउ र ओखर लगायत फलफूलको उत्पादन बढाउन विज्ञहरूको दरबन्दी राखेर छुट्टै फलफूल विकास कार्यालय स्थापना गरियोस्।
१०,कर्णाली राजमार्ग र वैकल्पिक सडक स्तरोन्नति : कर्णाली राजमार्ग तथा वैकल्पिक सुर्खेत (दैलेख) नाग्मा सडकको स्तरोन्नति तथा मर्मत गरियोस्।



प्रतिक्रिया दिनुहोस्: