जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुसलिएको आरोपमा पक्राउ

२०८१ कार्तिक २७

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्यूटर अपरेटर विकास पाण्डे सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालयबाट गएको टोलीले उनीहरुलाई २० हजार रुपैंया घुससहित पक्राउ गरेको छ ।

न्यायालय भित्र कर्मचारी वृत्तमा हुने घुसखोरीमा विरलै हात हाल्ने अख्तियारले पछिल्ला केही वर्ष यता अदालत भित्र सक्रियता देखाएको थिएन । सेवाग्राहीको उजुरीको आधारमा रंगेहात कारवाही गरेको अख्तियारले अदालतका दुई कर्मचारी पक्राउ गरेको हो । जिल्ला अदालत रहने तहसिल्दार फैसला कार्यान्वयनको जिम्मेवारीमा हुन्छन् ।

अदालतका कर्मचारीहरुले घुस मागेको उजुरी आएपछि हामीले आन्तरिक निगरानी र अनुसन्धान गरेका थियौं । त्यसपछि न्यायिक नेतृत्वलाई जानकारी गराएर उनीहरुलाई पक्राउ गरिएको हो’ अख्तियार स्रोतले भन्यो, ‘पक्राउ गरेपछि सबै प्रक्रिया पुरा गरेर उनीहरुलाई हिरासतमा लिइएको छ ।’

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जिल्ला अदालत कपिलबस्तुमा अख्तियारले सर्टिङ्ग अपरेसन गरेको पुष्टि गरे । उनले भने, ‘यस वारेको विस्तृत विवरण संकलन गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्: