१०० दिनमा १०१ उपलपब्धि लुम्बिनीका मुख्यमन्त्रीले गरे दाबी

२०८१ कार्तिक १४

बुटवल । लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार दाङमा आयोजित कार्यक्रममार्फत सरकारका सय दिने उपलब्धि सार्वजनिक गरेका हुन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा १०१ उपलब्धि भएको दाबी गरे ।

साउन ९ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेका आचार्यले छोटो समयमै प्रदेशवासीको हितमा धेरै काम गरेको जिकिर गरे । उनले प्रदेशका खर्च कटौतीदेखि शासकीय सुधारका लागि विभिन्न निर्देशन दिएको विषयलाई पनि उलपब्धिको सूचीमा राखेका छन् ।

मुख्यमन्त्री आचार्यले सडक, अस्पताल, कर्मचारी दरबन्दीदेखि अस्पतालमा हुने ई–टिकेटिङको कामलाई समेत सरकारको सय दिने उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।

प्रदेश सभा तथा प्रदेश सरकारबाट नीतिगत एवं कानुनी सुधारका लागि विभिन्न कानुन, कार्यविधि एवं निर्देशिका जारी गरिएको उनको भनाइ छ । उनले सय दिनभित्र प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको दाबीसमेत गरेका छन् ।

बुटवलस्थित सुविधा सम्पन्न १२ तले प्रादेशिक अस्पताल २०८५ पुससम्ममा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास, प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालय रहने गरी भएको निर्माण कार्य, बाँके जिल्लाको खजुरामा रहेको प्रदेशको गौरवको आयोजनाको रूपमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरी सूचना प्रविधि, इन्जिनियरिङ, कृषि लगायत अध्यापन कार्यलाई मुख्यमन्त्री आचार्यले उपलब्धिको सूचीमा राखेका छन् ।

उनले पाल्पाको रामपुर–जिनाबाङ सडक आयोजनालाई गौरवको आयोजनाको रूपमा अघि बढाउँदै विभिन्न सडक खण्डलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउने निर्णय गरिएको बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेशका पूर्वविशिष्टहरूका लागि सवारी, इन्धन, मर्मत लगायतका सुविधा फिर्ता गराउने निर्णयलाई आफ्नो प्रमुख उपलब्धिको सूचीमा उल्लेख गरेका छन् ।

प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउन राजस्वको दायरा वृद्धि गरिनुका साथै चालु खर्च कटौती गरिएको उनले जनाए ।

प्रदेशको समग्र राजस्वको दर र दायरालाई फराकिलो पार्न तथा प्रदेशको आन्तरिक स्रोतलाई मजबुत बनाउने उद्देश्यका साथ आर्थिक मामिला तथा योजनामन्त्रीको अध्यक्षतामा कार्यदल गठन गरेर समीक्षा अवधिमै सरकारले काम अघि बढाएको मुख्यमन्त्री आचार्यले प्रस्ट पारे ।

प्रदेशमा पाँच लाख वा सोभन्दा माथिका आयोजना, कार्यक्रम अनिवार्य रूपमा प्याकेजिङ गरी टेन्डर प्रक्रियाबाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

गत वर्षको बजेटभन्दा यस वर्ष २ अर्ब २९ करोड रुपैयाँ चालुतर्फ कम र पुँजीगत बजेटमा १ अर्ब ३२ करोड बजेट बढाइएको कार्यलाई प्रदेश सरकारको उपलब्धिको रूपमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: