हेटौंडा । बागमती प्रदेश सरकारले बाढीपहिरो पछिको ९ दिनसम्म लगातार काम गर्दै काठमाडौं – हेठौडा जोडने तीन वटा सडक सञ्चालनमा ल्याएको छ ।
काठमाडौं – दक्षिणकाली – सिस्नेरी – कुलेखानी – हेठौडा, काठमाडौं – फर्पिङ – हुमाने भन्ज्याङ – फाखेल – कुलेखानी र काठमाडौं – मातातीर्थ – चखेल- महालक्ष्मीखोला गरी तीन वटा सडक सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए ।
१२ असोजसम्म (तीन दिनसम्म) परेको भारी वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा काठमाडौंबाट हेटौंडा जोड्ने सडकहरु ९ दिनदेखि अवरुद्ध थिए । हामीले निरन्तर काम गरेर आइतबारबाट तीन वटा मार्गलाई खुलाएका छौं’, मन्त्री मास्केले भने ।
दक्षिणकालीदेखि सिस्नेरीसम्म सानाठूला गरी ६० वटा र सिस्नेरीदेखि भैंसेसम्म ४० वटा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको मन्त्री मास्केले बताए । ‘दशैंलाई लक्षित गरेर हामीले हतारहतार अस्थायी रुपमा सडक खुलाएका हौं । दीर्घकालिन तरिकाले योजना बनाएर काम गर्छौं’, उनले भने ।
तीन वटा सडकमा ५ वटा डाइभर्सन बनाइएको उनले बताए । कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा, कुलेखानी ड्याम क्षेत्रमा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको छ ।
महालक्ष्मी खोलामा ७० मिटर सडकमा क्षति पुगेको उनले जानकारी दिए । सवारी चाप अत्याधिक हुने भएकाले सिस्नेरी र फाखेल सडकलाई ‘वान वे’ बनाउने विषयमा छलफल भइरहेको उनले बताए ।
गाडी अड्किएको अवस्थामा कुलेखानी र महालक्ष्मी खोलामा जेसिबी तयारी अवस्थामा राखिएको मन्त्री मास्केले जनाए । ९ दिनसम्म एक्साभेटर, जेसिभी र टिपर लगाएर काम गरिएको भौतिक मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए । एक्साभेटरको भाडा र इन्धन खर्च मात्रै मन्त्रालयले ब्यहोर्ने गरी काम गरिएको उनले बताए हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना, पूर्वाधार विकास कार्यालय मकवानपुर र ललितपुर एकसाथ खटिएर निरन्तर काम गरिएको सचिव श्रेष्ठले जानकारी दिए ।
कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजमार्ग भने पहिल्यै सञ्चालनमा ल्याइएको हो ।
कान्तिलोकपथ सडक खण्ड भने सञ्चालनमा आइसकेको छैन । भीमफेदी र ललितपुर जोड्ने बागमती पुल बगाएकाले उक्त सडक खण्ड अवरुद्ध छ ।



प्रतिक्रिया दिनुहोस्: